सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले बुधबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा यस्तो निर्देशन दिएका हुन्।
मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनसँग सम्बन्धित धेरै समस्या हल भएको बताउँदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय बनाउन समेत निर्देशन गरे। 'संगठन संरचनाको टुंगो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय छन्। सेवा करार मार्फत कर्मचारी अभावको समस्या सामाधान भएको छ,' मुख्यमन्त्री शाहीले भने, 'हरेक जिल्लामा प्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भएको बताउँदै बजेट कार्यान्वयनमा देखाइने कुनै बाहनाबाजी आफूलाई स्वीकार्य हुन सक्दैन।'
कार्यसम्पादनका आधारमा मूल्यांकन हुने बताउदै मुख्यमन्त्री शाहीले कार्यालयमा बसेर फाइलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्च्याउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीको भरमा आयोजना नछोड्नसमेत निर्देशन दिएका थिए। विकास आयोजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय बनाउन अनुगमन तथा निरीक्षणका काम पनि कडाइका साथ गर्न उनको निर्देशन छ।
'भुक्तानी प्रक्रियामा ढिलासुस्तीको गुनासो मसम्म आइपुगेको छ। कार्यसम्पन्न भएका आयोजनाहरुको भुक्तानीमा ढिलासुस्ती एवं अनावश्यक दुख दिने कार्य स्वीकार्य हुन सक्दैन,' उनले भने।
भर्चुअल प्रविधि प्रयोग गरी आयोजना गरिएको प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव धर्मेन्द्र झा, महाशाखा प्रमुखहरु, निर्देशनालयका प्रमुखहरु र १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।