काठमाडौं-चन्द्रागिरि हिल्सले आजदेखि प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले छिटोमा पुस १ गतेसम्म बिक्री खुला गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म बिक्री गर्ने कम्पनीले जनाएको छ।
प्रभावित क्षेत्रका लागि तीन लाख ६ हजार कित्ता बिक्री गर्ने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्रमा काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु तथा साबिक महादेवस्थान गाविसका वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मात्र) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका ९ र १० (साविक चित्लाङ्ग गाविसका सम्पूर्ण वडाहरु) र इन्द्रसरोवर गाउँपालिका ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नागरिकहरु रहेका छन्।
प्रभावित स्थानीयबासीले न्युनतम १० कित्ता र अधिकतम तीन हजार ६० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। स्थानीय बासिन्दाले स्थानीय स्तरमा रहेका बैंकहरु मध्ये तोकिएका बैंकमार्फत् आवेदन दिन सक्ने छन्।
प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर बिक्री गरेपछि कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।