काठमाडौं–नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो।
राष्ट्र बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो। बोलकबोलमार्फत् व्याजदर निर्धारण हुने गरि यो उपकरण जारी गरिएको हो। बैंक तथा वित्तीय संस्थाहरुले बुधबार अपरान्ह २ बजेसम्ममा अनलाइन विडिङ सफ्टवेयर प्रणालीमार्फत् बोलकबोल गर्न सक्ने छन्।
बैंकहरुले घटिमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकमसम्मका लागि माग गर्न सक्ने छन्। बैंकहरुले यो उपकरण धितोको रुपमा समेत प्रयोग गर्न सक्ने छन्। निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोल बहुल व्याजदरमा पनि गर्न सकिनेछ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र व्याजदर दशमलव पछिको हकमा चार अंकसम्म उल्लेख गर्नु पर्नेछ।
बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम व्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ। खुला बजार कारोबार संचालन समितिले कटअफ रेट निर्धारण गर्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।