काठमाडौं–चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। लाभांश घोषणासँगै कम्पनीले पुस १२ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ। यस वर्ष कम्पनीले बोनस शेयर तथा नगद लाभांश दुवैलाई प्राथमिकता दिएको छ। सहायक कम्पनीमा लगानी जुटाउन कम्पनीले लामो समयदेखि बोनस शेयर दिँदै आएको छ।
कम्पनीले प्रस्ताव गरेको लाभांश मंसिर २८ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने छन्। साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।