काठमाडौं–मेगा बैंक नेपालले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणाली सुरु गर्ने भएको छ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
मेगा बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत् कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबार गर्न सकिने मेगा बैंकले जनाएको छ।
‘कर्पोरेट पे’ मा आवद्ध हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातका लागि स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपश्चात ग्राहकहरुले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन् भने तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गर्न बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात मिल्ने व्यवस्था रहेको छ।
यस प्रणालीमा पहुँच पाउन मल्टिलेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैंले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ। साथै, ग्राहकले आवश्यकताअनुसार यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ।
बैंकले ‘कर्पोरेट पे’ प्रणाली सुरुवातपछि आफ्ना व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंकको शाखा कार्यालयमा उपस्थित नभईकनै विभिन्न भुक्तानीको कारोबार अनलाईनमार्फत् नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।