काठमाडौं- सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक करोड ३१ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्। पोखरेलले गत आर्थिक वर्ष २०७६/७७ मा वार्षिक ८४ लाख रुपैयाँ तलब बुझेका हुन्। त्यस्तै ३० लाख रुपैयाँ भत्ता प्राप्त गरेका छन्।
पोखरेलले दशै भत्ता ९ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका हुन्। उनले कुल पारिश्रमिक मध्येबाट ६२ लाख २८ हजार रुपैयाँ आयकर बुझाएका छन्। आयकर कट्टिपछि उनले खुद पारिश्रमिक तथा भत्ता बापत ६९ लाख ६१ हजार रुपैयाँ हात पारेका छन्। उनले यस बाहेक बोनस ऐनअनुसार बोनस रकम प्राप्त गर्छन्।
पोखरेलसहित उच्च व्यवस्थापनका पदाधिकारीहरुले २ करोड ४५ लाख रुपैयाँ प्राप्त गरेका छन्। उनिहरुले आयकर बापत १० करोड २० लाख रुपैयाँ राज्यलाई बुझाएका छन्। गत आर्थिक वर्षमा बैंकको कर्मचारी खर्चमात्रै ९३ करोड ५२ लाख रुपैयाँ रहेको छ। त्यस्तै कार्यालय सञ्चालन खर्च ७१ करोड ६२ लाख रुपैयाँ रहेको छ। बैंकका सञ्चालकहरुले गत वर्ष बैठक भत्ता बापत ३५ लाख २८ हजार रुपैयाँ बुझेका छन्। सञ्चालकले टेलिफोन सुविधा बापत २ लाख ४९ हजार रुपैयाँ भुक्तानी पाएका छन्।
त्यस्तै उनिहरुले इन्धन खर्च ४ लाख ८७ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै पत्रपत्रिका बापत एक लाख ६६ हजार खर्च प्राप्त गरेका हुन्।
सिटिजन्स बैंकले मंसिर २० गते चौधौ वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा बैंकले गत वर्षको मुनाफाबाट ३ प्रतिशत नगद लाभांस र ८ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ। शेयरधनीहरुले कर प्रयोजनसहित २७ करोड २६ लाख रुपैयाँ र बोनस शेयर बापत ७२ करोड ७१ लाख रुपैयाँ वितरण गर्नेछ।
गत आर्थिक वर्षमा बैंकले एक अर्ब १९ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसमध्ये २० प्रतिशत अर्थात् २३ करोड ९७ लाख रुपैयाँ साधारण जगेडा कोषमा जम्मा गरेको छ। राष्ट्र बैंकका विविध व्यवस्थाको पालना पछि बैंकको मुनाफा वितरण गर्न योग्य लाभांस भने एक अर्ब २ करोड रुपैयाँमात्रै रहेको बैंकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।