काठमाडौं- सेयर बजार लगातार बढ्न थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सुसुचित भई सजगतापूर्वक लगानी गर्न अनुरोध गरेको छ। पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ‚ जुन समग्र पूँजीबजारका लागि खुसीको कुरा भएको बोर्डले जनाएको छ।
यद्यपी लगानीकर्ताहरुले पूँजीबजारका केही स्थापित मूल्य र मान्यताअनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने बोर्डको सुझाव छ।
धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्डले अनुरोध गरेको छ।
मुलुकको अर्थतन्त्रको विकासमा पूँजीबजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजीबजारको विकास र विस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको उल्लेख गरेको छ।
बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको बोर्डका प्रवक्ता निरज गिरीले जनाएका छन्। बोर्डले धितोपत्र वजारको नियमन गर्ने निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा प्रेस विज्ञप्ती, प्रकाशन, वेभ साइट तथा विभिन्न सञ्चार माध्यम मार्फत समसायिक बिषयमा जानकारी गराउँदै आएको छ ।
बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत भन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागिता माउल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।