काठमाडौं- गएको वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण झण्डै एक वर्षपछि आइतबार सार्वजनिक गरिएको छ। जसमा कार्यक्रमतर्फ १ अर्ब, ३१ करोड, ७८ खाख, ४३ हजार ६१ रुपैयाँ साथै निर्माणतर्फ २ अर्ब, ८६ करोड, १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको देखिएको छ।
साग खेलकुद सकिएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागअघि बताए पनि विवरण सार्वजनिक हुन झण्डै एक वर्ष लागेको हो। पोखरा र जनकपुरमा भएको खर्च विवरण आउन समय लागेको र कोरोना माहामारीका कारण भनिएको समयमा काम पूरा गर्न नसकेको राखेप सदस्यसचिव रमेश सिलवालले बताएका छन्।
सागमा विभिन्न् २६ खेल विधामा काठमाडौं, पोखरा र जनकुपरमा खेल आयोजना गरिएको थियो। जसमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ वटा कास्य गरी २ सय ७ वटा पदक जितेको थियो। सागमा पदक जित्ने खेलाडीहरुलाई प्रधानमन्त्री केपि शर्मा ओलीले घोषणा गरी खेलाडीको खातामा पठाइएको २२ करोड ७६ लाख रुपैयाँ भने राखेपको विवरण समावेश गरिएको छैन।
प्रत्यक्षप्रसारण बेचेको रकम ‘चेक बाउन्स’
दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) सँगको सहकार्यमा नेपालले १३ औँ सागको सम्पूर्ण प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्युज) लाई बेचेको थियो।
जसवापत एनके मिडियाले एसएओसीलाई ८ करोड रुपैयाँ र विज्ञापनको ५० प्रतिशत रकम दिने उल्लेख थियो। सम्झौतामा एसएओसीले प्रसारण अधिकार र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने उल्लेख थियो। सागका खेल सातै देशमा गरेर विभिन्न १५ च्यानलमा प्रत्यक्ष प्रसारण हुने समेत बताइएको थियो।
तर न त भनेअनुसार प्रत्यक्ष प्रसारण नै भयो न त दिने भनिएको रकम नै प्राप्त भयो। के भयो त? सदस्यसचिव सिलवाल भन्छन्- ‘उनीहरुले चेक दिएका थिए तर खातामा पैसा नै छैन रहेछ। अब त्यो विषय मुद्दा मामिलातिर जाने तरखरमा पनि देखिएको छ। उनीहरुले अब हवाइजहाज सहज भएपछि आएर मिलाउँछौँ भनेका छन्।’
यस्तो छ राखेपले सार्वजनिक गरेको विवरण




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।