काठमाडौं–केही समयमै उच्च अंकले बढिरहेको शेयर बजारमा संयमित भएर लगानी गर्न लगानीकर्ता संगठनहरुले आग्राह गरेका छन्। शेयर बजार बढेर उच्च विन्दुमा पुगेको अवस्थामा कम्पनीको गहन अध्ययन र विश्लेषण गरेर मात्रै लगानी गर्न उनीहरुले लगानीकर्तालाई आग्रह गरेका हुन्।
आफूले लगानी गर्ने कम्पनीको विगतको इतिहास संचालकहरुको सामाजिक हैसियत, कम्पनीद्वारा वितरित लाभांश, इतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरुको गहन अध्ययन र विश्लेषण गरी शेयरमा लगानी गर्नुपर्ने कुरालाई लगानीकर्ताले बिर्सन नहुनेतर्फ उनीहरुले सचेत गराएका छन्।
विज्ञको सल्लाह विना, कसैको लहलहैमा लागेर, विना अध्ययन शेयरमा लगानी गर्दा आफ्नो मिहिनेत र पसिनाको कमाईमा नोक्सानी पनि हुनसक्ने तर्फ सम्वेदनशील भै लगानी गर्न समेत उनीहरुले आग्रह गरेका छन्।
पुँजी बजार विकासमा नियामकले चालेका सकारात्मक कदमहरु, नट्सको सफल कार्यान्वयन, शेयर बजारको ब्याजदरमा कमी, देशको शोधानान्तर बचतमा बढोत्तरी, विप्रेषण आप्रवाहमा वृद्धि, अधिकांश बैंक तथा वित्तीय संस्थाको सन्तोषजनक पहिलो त्रैमासको वित्तीय विवरण, कोभिडको नकारात्मक असर कम हुनुको साथै खोपको सफल परीक्षण र नयाँ अर्थमन्त्री पुँजीबजार मैत्री हुने विश्वासले बजार अझै माथि जाने संकेत देखिएको संघ संगठनहरुले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।