काठमाडौं- ङादी हाइड्रोपावर कम्पनीले ४० करोड ५० लाख रुपैयाँ प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्र र सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो।
बुटवल पावर र लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले निर्माण गरेको यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कम्पनीले ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको निर्माण लागत ६ अर्ब चार करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस आधारमा प्रतिमेगावाट लागत २० करोड १४ लाख रुपैयाँ पर्न आउँछ।
जम्मा लागतमध्ये ७३ प्रतिशत ऋण तथा २७ प्रतिशत सेयर पुँजीबाट जुटाउने कम्पनीले जनाएको छ। एक अर्ब ६६ करोड रुपैयाँ सेयर पुँजीबाट जुटाउने भएको हो। यसै सेयर पुँजी मध्ये सर्वसाधारणबाट ४० करोड ५० लाख रुपैयाँ उठाउने छ।
प्राथमिक सेयर निष्काशनका लागि गरिएको रेटिङ अनुसार कम्पनीले केयर एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ। आयोजनाको लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।