फाइल तस्बिर
सिन्धुपाल्चोक–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आज शुक्रबारदेखि सुरु हुने भएको छ। सुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ र बोल्देका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिए।
गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम सुरु गर्न लागेको उनले बताए।
सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेका थिए। उनले संघ र जिल्लामा फरकफरक बैठक आयोजना गरी सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन र विस्थापित बस्तीको पुनःनिर्माणका लागि लगातार पहल गरेका थिए।
सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले सुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने बताइएको छ । जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुने बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।