काठमाडौं–भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन्।
यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो। लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन्।
भारतले उनको भ्रमणलाई उच्चस्तरीय भ्रमणको परम्पराको निरन्तरता भएको भनेको छ।
भ्रमणका क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने जनाइएको छ। नेपाल र भारतका बीचमा भूमि विवादबारे उच्चस्तरीय तहमा वार्ता गर्न खोजेको लामो समयपछि विदेशसचिव आउन लागेका हुन्। यसअघि भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख नेपाल भ्रमण गरेर फर्किसकेका छन्। उनको भ्रमण विवादित भएको थियो। नेपाल-भारतबीच जारी रहेको संवादहीनताको श्रृखला उनको भ्रमणपछि अन्त्य हुनेछ।
‘भारतको नेपालसँग पौराणिक र ऐतिहासिक सम्बन्ध छ। हालैका वर्षहरूमा भारतको सहायतामा अन्तरदेशीय पूर्वाधारको निर्माण भएर दुईपक्षीय सहकार्य अझ बलियो भएको छ,’ भारतीय विदेश मन्त्रालयले गत सोमबार विज्ञप्ति जारी गरेर भनेको थियो, ‘दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण एक अवसर हुनेछ।’
विदेश सचिव श्रींगला १२ गते नयाँ दिल्ली फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।