काठमाडौं–बिबिसीले सन् २०२० का लागि छनोट गरेका संसारभरका १०० प्रेरक र प्रभावशाली महिलामा नेपालकी सपना रोका मगर पनि परेकी छिन्।
वेवारिसे शवकाे अन्तिम संस्कार गर्ने १८ वर्षीया सपनालाई बिबिसीले प्रभावशाली महिलामा समेटेको हाे। उनी सडक, गल्ली र अस्पतालका रहेका बेवारिशे शवकाे अन्तिम संस्कार गर्ने विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा कार्यरत छिन्।
सपना बेवारिसे शवलाई लिएर अस्पताल पुर्याइ पोष्टमार्टम गरेर दाहसंस्कार गर्ने प्रक्रिया सहभागी हुन्छिन्। दाहसंस्कार प्रक्रियामा सामान्यतया पुरुष सहभागी हुने हिन्दु बहुल नेपाली समाजमा उनको भूमिकालाई बिबिसीले प्रेरक ठानेको छ।
उनले बिबिसीसँग भनेकी छन्, 'पूरै दुनियाँमा बेघर र छाडिएका मान्छे छन्। उनीहरु सडकमै मर्छन्। उचित अन्तिम संस्कारको अधिकार उनीहरुसँग पनि छ। त्यसैले म यो काम समाजसेवाका लागि मात्रै होइन, आफ्नै खुसीका लागि पनि गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।