काठमाडौं–एनआईसी एशिया क्यापिटलले नेपालमै दोस्रो खुलामुखी म्युचुअल फण्डको सार्वजनिक निष्काशन गर्ने भएको छ। यस अगाडि एनआईबिएल एस क्यापिटलले पहिलो पटक खुलामुखी म्युचुअल फण्ड जारी गरेको थियो।
एनआईसी एशिया क्यापिटलले ५० करोड रुपैयाँको बीज पुँजीसहित एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड सञ्चालनमा ल्याउने भएको हो। क्यापिटलले मंसिर १२ गतेदेखि सर्वसाधारणका लागि प्रति इकाइ १० रुपैयाँका दरमा एक करोड २५ लाख इकाई जारी गर्दै छ। छिटोमा मंसिर १६ गतेसम्म इकाई निष्काशन हुनेछ। यदि पहिलो चरणमा बिक्री भएन भने ढिलोमा मंसिर २६ गतेसम्म जारी गर्न सक्ने छ।
५० करोड रुपैयाँको बीज पुँजीमध्ये १५ प्रतिशत अर्थात् ७ करोड ५० लाख रुपैयाँ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ। बाँकी ४२ करोड ५० लाखमध्ये प्रथम चरणमा १२ करोड ५० लाख रुपैयाँ सर्वसाधारणका लागि सर्वजनिक रुपमा जारी गर्नेछ। बाँकी पुँजीका लागि भने फण्डले साप्ताहिक न्याभ रिपोर्टका आधारमा तय भएको मूल्यलाई आधार मानी लगानीकर्ताको माग अनुसार बिक्री गर्दै जान सक्ने छ। यस्तो माग तथा आपूर्ति फण्डको प्रस्तुतिका आधारमा तलमाथि हुन्छ।
फण्डले आर्जन गरेको नाफा वर्षमा एक पटक साधारणसभा गरेर वितरण गर्न सक्ने छ। लगानीकर्ताले सुरुमा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने छन्।
यस फण्डले दोस्रो बजार बाहेक नेपाल सरकारले जारी गरेका बण्ड, ऋणपत्र तथा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न सक्छन्। फण्डले जम्मा लगानीको १५ प्रतिशत बैंक तथा वित्तीय संस्थामा निक्षेप तथ मुद्दती निक्षेमा लगानी गर्ने विवरणपत्रमा उल्लेख छ। त्यस्तै जम्मा लगानीको ६५ प्रतिशत बण्ड डिवेन्चर मुद्रा बजार उपकरण माग तथा अल्प सूचनामा प्राप्त हुने रकम र २० प्रतिशत प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने जनाएको छ।
यो योजनाले अबको ५ वर्षमा आफ्नो बिज पुँजी ७५ करोड ५८ लाख पुर्याउने योजना बनाएको छ। आगामी वर्षदेखि ५ औ वर्षको अवधिमा ८ देखि १० प्रतिशत प्रतिफल दिन सक्ने प्रक्षेपण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।