जुम्ला–जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्ति फिर्ता लिन माग गर्दै गत असोजदेखि जारी तालाबन्दी जारी छ। कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लिन माग गर्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो।
प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका छन् ।
प्रतिष्ठानमा यसअघि सरस्वती गौतम र प्रा डा रेशमबहादुर राना डिन नियुक्त भइसकेका छन्। असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको हो।
यसैबीच, ४० दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको परीक्षाका विषयमा जानकारी माग गर्दै जुम्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन्।
वाग्लेसँग भेट नभएको र फोनबाट सूचना लिन खोज्दासमेत रिसिभ नगरी सूचना पाउने अधिकारबाट वञ्चित गराएको भन्दै पत्रकारहरुले सोमबार हुलाक कार्यालय जुम्लाबाट चिठ्ठी पठाएका हुन्।
प्रतिष्ठान कर्मचारी समाजले गरेको तालाबन्दीले उब्जेको समस्याका विषयमा दुई सातादेखि सूचना लिन खोज्दा उपकुलपति प्रा डा वाग्लेले भेट र फोन रिसिभ दुवै नगरेकाले सूचना पाऊँ भनेर हुलाकबाट चिठ्ठी पठाइएको पत्रकार महासङ्घ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।