काठमाडौं–कक्षा १२ को परीक्षा ७ महिना ढिला गरी आजदेखि सुरु भएको छ। गत वैशाखमै तय गरिएको परीक्षा कोभिड महामारीका कारण आजदेखि सुरु गरिएको हो।
यसपटक सैद्धान्तिकतर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशतमात्रै लिखित परीक्षा लिइएको छ। मंसिर १६ गते परीक्षा सकिनेछ । परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको संक्षिप्त परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने छ।
परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्डले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ। प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिएको छ। डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
यस्तै, स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको छ। बोर्डले जनाएको छ। यसपटक ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।