काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। दोस्रो बजारमा ६९ सय रुपैयाँ पुगेको साल्ट ट्रेडिङले सोमबार यस्तो घोषणा गरेको हो। कम्पनीले आगामी मंसिर ३० गतेका लागि डाकिएको वार्षिक साधारणसमा पेश हुने गरि २५ प्रतशित बोनस शेयर र १० प्रतिशत नगद लाभांस घोषणा गरेको छ।
कम्पनीले तीन करोड ८३ लाख रुपैयाँ बोनस शेयर र एक करोड ५३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ। भर्चुअल माध्यमबाट साधारणसभा बोलाएको कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्न भएको छ। मंसिर १४ गतेसम्म शेयर खरिद गर्नले प्रस्तावित लाभांस प्राप्त गर्न सक्ने छन्।
एक वर्षअघिसम्म कम्पनीको सेयरको मूल्य एक हजारमा आसपास मात्र थियो। लगानीकर्ताले कर्नरिङ गरी कम्पनीको सेयरमूल्य बढाएको बताइँदै आएको छ। थोरै शेयर पुँजी भएको यस कम्पनीको कर्नरिङ गरेर बजार मूल्य उचालिएको हो।
सीमित व्यक्तिको हातमा मात्रै सेयर रहेको यस कम्पनीका केही सेयरधनीले गत वर्ष केही सेयर बिक्री गरेका थिए। त्यसभन्दा अगाडि दोस्रो बजारमा कम्पनीको खासै कारोबार हुँदैन थियो। केही सेयरधनीले आफूसँग भएको केही सेयर थोरै थोरै गरेर बिक्री गर्न थाले। त्यसपछि दोस्रो बजारमा मूल्यले उचाइ लियो। थोरै मात्रै सेयर बजारमा भएकाले मूल्यमा उछाल आएको बताइने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।