काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउने औपचारिक घोषणा भारतीय विदेश मन्त्रालयले गरेको छ। मन्त्रालयले सोमबार श्रींगलाको भ्रमणबारे औपचारिक जानकारी गराएको हो।
यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो। लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन्।
भारतले उनको भ्रमणलाई उच्चस्तरीय भ्रमणको परम्पराको निरन्तरता भएको भनेको छ।
भ्रमणका क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्नेछन्। नेपाल र भारतका बीचमा भूमि विवादबारे उच्चस्तरीय तहमा वार्ता गर्न खोजेको लामो समयपछि विदेशसचिव आउन लागेका हुन्। यसअघि भारतीय खुफिया एजेन्सी रअ प्रमुख नेपाल भ्रमण गरेर फर्किसकेका छन्। उनको भ्रमण विवादित भएको थियो।नेपाल-भारतबीच जारी रहेको संवादहीनताको श्रृखला उनको भ्रमणपछि अन्त्य हुनेछ।
‘भारतको नेपालसँग पौराणिक र ऐतिहासिक सम्बन्ध छ। हालैका वर्षहरूमा भारतको सहायतामा अन्तरदेशीय पूर्वाधारको निर्माण भएर दुईपक्षीय सहकार्य अझ बलियो भएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण एक अवसर हुनेछ।’ विदेश सचिव श्रींगला १२ गते नयाँ दिल्ली फर्कनेछन्।
नेपाली राम्रोसँग बोल्ने र बुझ्ने उनी नेपाल भ्रमणका समयमा विवादित भूमि कालापानी र लिपुलेकबारे कुराकानी हुनेबारे मन्त्रालय मौन रहेको छ। नेपालका तर्फबाट पनि यो एजेन्डा अघि सार्छ कि सार्दैन भन्नेबारे कुनै प्रतिक्रिया आएको छैन। यो भेटले संवादको श्रृंखला खोल्ने भएकाले सकारात्मक रुपमा अघि बढ्ने नेपाली रणनीति रहेको छ। भारतले पनि नेपालसँगको सम्बन्ध पुनः सही दिशामा ल्याउने प्रयाश गर्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।