काठमाडौं–थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण सुरु भएको छ।
नदीको दायाँबायाँ गरी करिब छ किमी वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिसँगै त्यहाँ रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण देवालय पुनःनिर्माण सुरु गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । एशियाली विकास बैङ्कको एक अर्ब २८ करोड रुपैया ऋण सहयोगमा नदीको दायाँबायाँ सौन्दर्य अभिवृद्धिसँगै देवालय पुनःनिर्माण पनि सुरु गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए।


यो बजेटबाट गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरवाहिनी क्षेत्रको करिब २०० मिटर नदी किनारका पुरातात्विक महत्वका सत्तल पुनःनिर्माण र सौन्दर्य अभिवृद्धि गरिने छ। समितिले गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको करिब सात किलोमिटर क्षेत्रमा पनि नदी सौन्दर्य अभिवृद्धिको काम गरिरहेको छ। मुआब्जा विवादका कारण रोकिएको काम आजैदेखि पुनः गर्न आइतबार सरोकार भएका निकायबीच सहमति भएको छ।
गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको सौन्दर्य अभिवृद्धिको काम एक अर्ब ९० करोड रुपैयाँ लागतमा भइरहेको छ। मुआब्जा विवादका कारण करिब एक वर्षदेखि रोकिएको कामको हालसम्म ७६ प्रतिशत भौतिक र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ। आगामी पुसमा म्याद सकिने भएपछि एक वर्ष थप गर्न समितिले सहरी विकास मन्त्रालयमा पत्राचारसमेत गरेको छ।
सिनामङ्गलबाट थापाथली पुलसम्मको नदी किनारमा भने सुकुम्वासी बस्ती रहेकाले सौन्दर्य अभिवृद्धिको काम अघि बढाउन नसकिएको सूचना अधिकारी अर्यालले बताए। समितिले वाग्मती नदी किनारमा रहेका सार्वजनिक जग्गालगायत सम्पत्तिसम्बन्धी कार्यविधिको मस्यौदा निर्माणसमेत सुरु गरेको जनाएको छ। तीन महिनाभित्रमा कार्यविधि जारी हुने गरी काम भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।