काठमाडौं–सरकारको अनुमतिविना सरकारी कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरबाट उक्त निर्णय गरेको हो।
यसअनुसार राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीेले नेपाल सरकार र अन्य कर्मचारीले सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्सिच्युटमा उपस्थित भई वा अनलाइन माध्यमबाट लोकसेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन पाइनेछैन।
यसअघि कुनै मन्त्रालय वा निकायबाट कुनै कर्मचारीलाई स्वीकृति दिइएको भए पनि मंसिर ७ देखि नै निष्क्रिय हुने निर्णय मन्त्रालयले गरेको छ।
यस्तै, लोकसेवाको तयारी कक्षामा पढाउने प्रयोजनका लागि कुनै कर्मचारीलाई बिदा नदिन र काजमा खटिई गएको अवस्थामा प्रशिक्षण कार्यमा सहभागी हुनसक्नेतर्फ सचेत बन्न पनि मन्त्रालयले सबै मन्त्रालयलाई आग्रह गरेको छ।
मन्त्रालयले आफ्नो निर्णयमा भनेको छ, ‘स्वीकृतिविना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भए नभएको सम्बन्धमा सम्बन्धित सरकारी निकायबाट कडाइका साथ अनुगमन गर्ने र भएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।