काठमाडौं- आइतबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको हो।
आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो। उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ। बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ।
कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ। दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ। सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ३ सय ४५ अंकमा बन्द भएको छ।
कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेकका सबै समूहका सूचक घटेका छन्। यसअघिका दिनहरुमा व्यापार, बिमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरु ती क्षेत्रको सेयर बिक्री गरी बैंक तर्फ आकर्षित भएको देखिन्छ।
त्यसैले अन्य समूहमा दवाव भइरहदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ। विकास बैंक शुन्य दशमलव ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ। लगानीकर्ताहरु तुलनात्मक रुपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका सेयर खरिद गर्न झुम्मिएको देखिन्छ। घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ। यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ।
आइतबार सबै भन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लख १९ हजार रुपैयाँको भएको छ। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसबाहेक २० कारेड रुपैयाँ बढीको सेयर कारोबार हुने कम्पनीहरुमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट रहेका छन्।
सिटिजन्स म्युचुअल फन्ड दोस्रोका इकाईधनीहरुले १० प्रतिशतले कमाएका छन्। यस्तै जानकी फाइनान्सका सेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन्। बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिएपनि माउन्टेन हाइड्रो नेपालका सेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।