काठमाडौं-कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीअन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पतालहरु र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान सुरु भएको छ।
नेपाल सरकारलाई विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य करिब १.४ करोड रहेको छ। यस साझेदारीअन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरुमा एक—एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिने छ ।
दोस्रो चरणको सामग्री वितरण अभियान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा शुरुवात गरिएको हो।
मन्त्री ढकालले प्रत्येक प्रदेशमा रहेका ठूला अस्पतालमा भेन्टीलेटरको व्यवस्था गर्ने योजना अनुसार कोकाकोलासँगको साझेदारीमा रेडक्रसले प्रदान गरेको भेन्टिलेटरहरु सातै प्रदेशमा पुर्याउने प्रतिवद्धता जनाए। सरकारले ल्याएको स्वास्थ्य अध्यादेशले कोभिड महामारीसँगको लडाइँमा सहज हुने अपेक्षा राख्दै मन्त्री ढकालले भने, ‘विभिन्न अभावबीच महामारीसँग लड्नु पर्ने हाम्रो बाध्यतामा सबै सरोकारवालाको साथ र सहयोग प्रशंसनीय रहेको छ।’
सोही अवसरमा रेडक्रस र कोकाकोलाबाट उपलब्ध गराईएका सामग्रीहरु मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजकर्णिकारलाई हस्तान्तरण गरेका छन् । नेपाल रेडक्रसका कार्यवाहक अध्यक्ष सर्मिला कार्की, महामन्त्री पिताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोकाकोलाका तर्फबाट कन्ट्री पीएसीएस म्यानेजर इरिना कार्की तथा ह्युमन रिसोर्स् डाइरेक्टर हरि शर्मा न्यौपानेको उपस्थिति रहेको थियो ।
हस्तान्तरण गरिएका सामग्रीमा १०० थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पन्जा, केएन ९५ मास्क २०० वटा रहेका छन् । त्यसैगरी आगामी दुई साताभित्र सात प्रदेशका तोकिएका अस्पतालहरुमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान शुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० वटा र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने जनाइएको छ । उक्त सामग्रीहरु कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।