पाँचथर–पाँचथरमा शुक्रबार एकैदिन तीन हजार घरमा विद्युतीकरण शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युतको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन्।
शुक्रबार जिल्ला आएका उनले अलग–अलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन्। दुई गाउँपालिकाका छ वटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रबार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो ।
म्मायक – २ माङ्जाबुङका ७२५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ ठेक्कामार्फत् वाइवा इन्फ्राटेक प्रालि काठमाडौँले छ करोड ९३ लाख ९४ हजार ४४५ रुपैयाँको लागतमा विद्युतीकरण सम्पन्न गरेको छ। विद्युत् विस्तारका लागि एचटी लाइन १२.७ किलोमिटर र एलटी लाइन ६१.९६ किलोमिटर विस्तार गरिएको छ भने चार ट्रान्सफर्मर राखिएको विद्युत् सहकारीका सचिव रुपेश शेर्माले जानकारी दिए।
मिक्लाजुङ–१ र २ सराङडाँडा ८०५ घरमा सराङडाँडा विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरणको काम पूरा भएको छ। यहाँ पनि ठेक्कामार्फत् वाइवा इन्फ्राटेक प्रालिले नै रु १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतीकरणको काम पूरा गरेको छ । यहाँ एचटी लाइन २२.३९ किलोमिटर तथा एलटी लाइन ९२.६० किलोमिटर विस्तार गरिएको छ भने १० ट्रान्सफर्मर रहेको विद्युत् सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिए।
मिक्लाजुङकै वडा नं ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत् सहकारी संस्थाको अगुवाइमा यहाँका ८६० घरमा विद्युतीकरणको काम सम्पन्न भएको छ । त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले पाँच करोड १२ लाख ७९ हजार २९५ रुपैयाँ लागतमा यहाँ विद्युतीकरणको काम सम्पन्न गरेको हो। विद्युत् विस्तारका लागि १७.४१ किलोमिटर एचटी लाइन र ५९.३२ किलोमिटर एलटी लाइन विस्तार गरिनाका साथै आठ ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीका अध्यक्ष फणीन्द्रप्रसाद घिमिरेले जानकारी दिए।
मिक्लाजुङ–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत् सहकारी संस्थाको अगुवाइ विद्युतीकरणको कार्य पूरा भएको हो। यहाँसमेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रु चार करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतीकरणको काम पूरा गरेको हो । विद्युत् विस्तारका लागि १५.९५ किलोमिटर एचटी लाइन र ६६.३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीले जनाएको छ। लिम्बा र दुर्दिम्बामा विसं २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत् प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतीकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतीकरणको शुरुआत भएको प्राधिकरणका इञ्जिनीयर विधान पोखरेलले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत् सहकारीले उपभोक्ताबाट कूल लागतको प्रतिशत रकम सङ्कलन गरी विद्युतीकरण अगाडि बढाएका थिए। सबै घरमा विद्युतीकरणको कार्य पूरा गरी जिल्लालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले बताए।
पछिल्लो पटक प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत् सहकारीबाट काम नभएका स्थानमा प्राधिकरणमार्फत् पनि विद्युतीकरण अगाडि बढाइएको छ। उनले शुक्रबार जिल्लाको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा विद्युत् सबस्टेशन निर्माणको शिलान्याससमेत गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।