काठमाडौं- व्यवसाय निरन्तरताका लागि सहुलियतपूर्ण कर्जा कार्यविधिअनुसार कोभिड-१९ प्रभावित व्यवसाय अघि बढाउन दिइने ऋणका लागि मंसिर १० बाट आवेदन माग हुने भएको छ। कार्यविधिअनुसार गठित कोष सञ्चालक समितिको बैठकले मंसिर १० गतेपछि ऋणको प्रवाहका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले तत्काल ऋण प्रवाहका लागि नेपाल राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिने निर्णय गरेको छ।
'बैठकले अर्थ मन्त्रालयले कर्जा प्रवाहका लागि स्रोत व्यवस्थापन गर्ने, नेपाल राष्ट्र बैंकले खाता सञ्चालन तथा कर्जा प्रवाहका लागि वाणिज्य बैंकहरूलाई निर्देशन दिने निर्णय गरेको छ,' अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा केही दिनअघि मन्त्रिपरिषदको बैठकले कार्यविधि स्वीकृत गरेको थियो। कार्यविधिअनुसार कोभिडबाट अति प्रभावित व्यवसायका लागि १० करोड रूपैयाँसम्म, मध्यम प्रभावित क्षेत्रका लागि ७ करोड रूपैयाँसम्म र न्यून प्रभावित व्यवसायका लागि ५ करोड रूपैयाँसम्म ऋण दिइने उल्लेख छ। यसका लागि ५० अर्ब रूपैयाँको शोधभर्ना कोष सरकारले स्थापना गर्नेछ।
यस कार्यविधिबमोजिमको कर्जा प्राप्त गर्न योग्य व्यवसायीलाई दिइने ऋणको ब्याजदर पहिलो वर्षको लागि ५ प्रतिशत र दोस्रो वर्षको लागि ६ प्रतिशत हुनेछ। त्यसरी ऋण दिने बैंकलाई पहिलो वर्ष २ प्रतिशत र दोस्रो वर्ष ३ प्रतिशत ब्याजदरमा शोधभर्ना खाताबाट रकम उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।