काठमाडौं-नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले उक्त लाभांश २७ औ वार्षिक साधारणसभामा पेश गर्ने छ। यसभन्दा अगाडि नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत गराउनु पर्ने हुन्छ। बैंकले घोषणा गरेको लाभांश एक दशक यताकै कम हो।
नगद लाभांश धेरै दिने नेपाल एसबिआईले नेपाल राष्ट्र बैंकको निर्देशनपछि बोनस शेयर बढी दिने घोषणा गरेको हो। राष्ट्र बैंकले वितरण योग्य मुनाफाको ३० प्रतिशत भन्दा धेरै नगद लाभांश दिन नपाउने व्यवस्था गरे पनि अघोषित रुपमा वितरण गर्ने जम्मा लाभांशको ३० प्रतिशत भन्दा धेरै नगद लाभांश हुन नहुने व्यवस्था गरेको छ। यस वर्ष नगद लाभांश लैजान नपाउने भए पछि बैंकले यस वर्ष दशक यताकै कम लाभांश दिने प्रस्ताव गरेको हो।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ६ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैया पुग्नेछ। कर प्रयोजनसहित लगानीकर्ताले ३१ करोड रुपैयाँ नगद प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।