काठमाडौं- सरकारले चालु आर्थिक वर्षको चौथो महिनापछि राजस्वको लक्ष्य भेट्टाएको छ। आर्थिक वर्षको चौथो महिनामा आइपुग्दा मात्रै लक्ष्यअनुसार राजस्व संकलन भएको हो।
अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले दिएको जानकारीअनुसार कात्तिकसम्मको राजस्वको लक्ष्य २ खर्ब ६२ अर्ब रूपैयाँ थियो। यो अवधिमा २ खर्ब ६४ अर्ब रूपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ।
कात्तिकमा सरकारले लक्ष्यभन्दा ३ अर्ब रूपैयाँ धेरै राजस्व संकलन गरेको थियो। कात्तिकका लागि ६४ अर्ब ९५ करोड रूपैयाँ राजस्व लक्ष्य निर्धारण गरिएकोमा ६७ अर्ब ७८ करोड रूपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षको कात्तिकमा ५८ अर्ब १३ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा चालु आर्थिक वर्षको सुरुदेखि नै राजस्व संकलनमा दबाब बढिरहेको थियो। तर असोजपछि आर्थिक गतिविधि बढ्दै जाँदा त्यसको प्रभाव राजस्व संकलनमा देखिएको हो।
मन्त्रालयका अनुसार कात्तिकमा आयातमा उल्लेख्य वृद्धि भएको छ। जसका कारण राजस्व संकलनमा धेरै योगदान दिएको छ। अहिले पनि आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर र अन्त:शुल्क संकलन भने अझै पनि लक्ष्यअनुसार हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।