काठमाडौं-सनराइज बैंकले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। सो सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५३ पुगेको छ। बैंकले यस शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ। बिहीबार अर्जुनधारा नगरपालिका मेयर हरिकुमार राना मगरको प्रमुख आतिथ्यतामा शाखारहित सेवा सुरु गरिएको हो।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन्। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्धेश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।