काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघबीच दक्ष जनशक्तिको प्रकार, माग र आपूर्तिलाई व्यवस्थित बनाउने समझदारी भएको छ। बुधबार एक कार्यक्रमबीच दुई महासंघले उक्त समझदारी गरेका हुन्।
सो समझदारी अनुसार पर्यटन, निर्माण र कृषि क्षेत्रमा विदेशबाट फर्किएका युवाहरुलाई व्यवस्थित रुपमा लगाइने उल्लेख छ। उक्त समझदारी पछि बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोरोना महामारीपछि खुम्चिएको अर्थतन्त्रलाई सो समझदारीले सेवा पु¥याउने बताइन्। ‘देशमा भएको श्रमलाई पुँजीमा परिणत गर्न दुई महासंघबीचको समझदारी महत्वपूर्ण हुनेछ’ राणाले भनिन्।
नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलसहित नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका प्रतिनिधिहरुबीच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवाल, नेपाल साना तथा घरेलु उद्योग महासंघका महासचिव डम्बर रेग्मी र होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
नेपाली श्रम बजारको अध्ययन अनुसन्धान र तथ्याङक संकलनका लागि उक्त परियोजना निकै प्रभावकारी हुने विश्वास हस्ताक्षरकर्ताहरुको छ।
कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सबै संस्थाबाट दुई–दुई जना प्रतिनिधि रहने गरी प्रोजेक्ट–कोअर्डिनेसन कमिटी समेत गठन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।