काठमाडौं- साझा दस्तावेज बनाउने काममा गम्भीर बन्न आग्रह गर्दै सतारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समानान्तर दस्तावेज एकतातर्फको बाटो नभएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टै प्रस्ताव ल्याउन दिइएको १० दिनको समयलाई साझा दस्तावेज बनाउने काममा सदुपयोग गर्न उनले आग्रह गरेका हुन्। पार्टीको भावनाविपरीत एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउर्नेमा जोड दिँदै पोखरेलले यसप्रति गम्भीर हुन आग्रह गरेका हुन्।
‘पार्टी एकताको भावनाविपरीत आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनुपर्नेमा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ। पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेज बाटो एकतातर्फको बाटो अवश्य होइन‚’ बुधबार बेलुका आफ्नो फेसबुकमा उनले लेखेका छन्‚ ‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गम्भीर बन्नुहोस्। अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ।’
गत शुक्रबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको र पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको आरोप लगाउँदै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पेज लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए। त्यसलाई जवाफ दिन आज (बुधबार) नै सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले पनि अर्को प्रस्ताव ल्याउनेबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।