काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन्। कर, भ्याट, अन्तःशुल्कलगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्नसक्ने र स्पष्ट भनाइ राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्ने मुरारकाको भनाए छ। त्यो भूमिका किशोर प्रधानले मात्र निर्वाह गर्न सक्ने भन्दै मुरारकाले जिल्ला नगरबाट नेतृत्व अपरिहार्य रहेको बताए।
ठेक्का प्रक्रियामा टेण्डर हालेजसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए।
‘म निवर्तमान अध्यक्षका नाताले महासंघभित्र दोस्रो वरियतामा थिएँ‚’ मुरारकाले भने, ‘डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किएँ, किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन। तर, अपराध नै गरेजसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्षबन्ननदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ’ मुरारकाले आफ्नो अनुभव सुनाए।
‘शेखर गोल्छाले के अपराध गरेका छन् र अध्यक्ष बन्न दिन्न भनेर धम्याक्याइन्छ?’ मुरारकाले प्रश्न गरे, ‘पहिला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरी गोल्छालाई मतदान गर्ने, अनि अहिले अध्यक्ष बन्न दिन्न भनेर धम्क्याउने?’
शेखर गोल्छाले धम्कीको प्रवाह नगरी किशोर प्रधानको समूहलाई आफ्नो समूह भन्ने गरेको भन्दै मुरारकाले आगामीअध्यक्षले चाहेको समूहलाई नेतृत्वमा ल्याउन आफू लागेको बताए।
साना तथा मझौला व्यवसायीका पीडा निकै दर्दनाक हुने भन्दै मुरारकाले त्यस्ता गुनासो सुन्न सक्ने र सरकार समक्ष पुर्याउने क्षमताकिशोर प्रधानसँग रहेको बताए।
महासंघको इतिहासमा हालसम्म जिल्ला/नगरतर्फबाट आनन्दराज मुल्मी र कुशकुमार जोशीमात्रै अध्यक्ष भएको स्मरण गराउँदै उनले किशोर प्रधानले महासंघमा आएर गरेको त्यागलाई सम्मान गर्न पनि यसपटक उनलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे।
‘किशोर प्रधान अनुभवी र क्षमता भएको व्यक्ति हुनुहुन्छ, अहिलेको अवस्थामा महासंघमा अनुभवी व्यक्ति चाहिएको छ’ मुरारकाले भने, ‘अगाडि पर्दा तपाईं नै हाम्रो मान्छे भन्ने तर पछाडिबाट असहयोगी भूमिका खेल्ने प्रवृत्ति त्यागेर मतदान गर्नुपर्छ। किशोरसँग केही गुनासा छन् भने उनकै अगाडि भन्न सक्नुपर्छ।’
अहिले उल्लेख्य सहभागिता देखेर निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिने बताएका उनले अन्तरघात नगर्न सबैलाई आग्रह गरेका छन्। ‘म अनुरोध गर्न चाहन्छु, अहिले तपाईंहरुले गर्ने कमजोरी र गल्तीका कारण आगामी ३ वर्ष पछुताउनु नपरोस्’ मुरारकाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।