काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावलाई लाञ्छना र आरोपपत्र मात्र भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय कमिटीको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्षको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका हुन्।
'यो लाञ्छना र आरोपत्र मात्र हो। यसलाई स्वीकार गरेर बस्न सकिँदैन। व्यवस्थित र तथ्यगत रूपमा जवाफ दिन्छु। त्यसका लागि मलाई १० दिन समय चाहिन्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक जना सचिवालय सदस्यले भने।
अध्यक्ष ओलीले जवाफ दिनका लागि १० दिनको समय माग गरेपछि बैठक बस्ने गरी टुंगिएको छ।
गत शुक्रबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको र पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको आरोप लगाउँदै प्रचण्डले १९ पेज लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए। त्यसलाई जवाफ दिन सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि अर्को प्रस्ताव ल्याउनेबारे ओलीले जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
यस्तै मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटीको बैठक बस्नेसमेत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।