काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मंसिर १८ गते बस्ने भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, बुधबार बसेको सचिवालयको बैठकले स्थायी कमिटीको मिति तय गरेको हो।
यसअघि गत असार १० देखि भदौ २६ सम्म स्थायी कमिटीको बैठक बसेको छ। सो बैठकका निर्णय कार्यान्वयन नगरिएको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काको आलोचना गर्दै आएका छन्।
त्यस्तै, १५ गते बस्ने भनिएको केन्द्रीय कमिटी २५ गते मात्रै बस्ने भएको छ। गत कात्तिकमै बस्ने भनेर स्थायी कमिटीले मिति तय गरेको बैठक एक महिनाका लागि पछि सार्दै मंसिर १५ गते बस्ने बताइएको थियो।
ओलीको छुट्टै प्रस्ताव
सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि प्रस्ताव ल्याउने भएका छन्।
यसअघि गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। ओलीको कार्यशैलीको आलोचना गरिएको सो प्रस्तावप्रति ओली र उनी पक्षका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
आजको बैठकमा ओलीले प्रस्ताव ल्याउने बारे जानकारी गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सचिवालयको अर्को बैठक भने मंसिर १३ गतेसम्मलाई स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।