काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ। कार्यकाल सकिन केही समय मात्र बाँकी रहँदा पाण्डेले राजीनामा दिएका थिए।
सञ्चालक समितिले पाण्डेको राजीनामा स्वीकृत गर्दै पवनकुमार खड्कालाई मंसिर १ देखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। यसअघि उनी कम्पनीमा नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए।
चार्टर्ड एकाउन्टेन्ट पाण्डेले आफ्नै अडिट फर्म सञ्चालन गर्न राजीनामा दिएको जानकारी दिए। उनले केही समयअघि नै उक्त फर्म दर्ता गराएका थिए।इन्स्योरेन्स कम्पनीबाट बाहिरिएर आफ्नै व्यवसाय गर्ने उनले बताए। पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएपछि चार वर्षअघि सूर्या लाइफमा नियुक्त भएका थिए।
उनी प्रमुख कार्यकारी अधिकृत भएर आएसँगै तीन–चार वर्षदेखिको लेखापरीक्षण गराएका थिए। पछिल्लो समय प्रस्तुतिका हिसाबले सूर्या अगाडि देखिँदै आएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९ जीवन बिमा कम्पनीमध्ये चौथो स्थानमा सूर्या छ।
नेपाल लाइफबाट अवकाश पाएका विवेक झालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने चर्चा पनि चलेको थियो। ६ महिने कुलिङ पिरियडका कारण उनी पुससम्म अर्को कम्पनीमा जान नपाउने भएकाले तत्कालका लागि खड्कालाई निमित्त सिइओ बनाइएको हो। झा गत असारमा नेपाल लाइफबाट बाहिरिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।