काठमाडौं-माउन्टेन इनर्जीले निष्काशन गरेको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेपछि आजदेखि निष्काशन बन्द हुने भएको छ। कम्पनीले कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि लागि १९ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। यसबीचमा तिहार बिदा परेकाले कम्पनीले आजदेखि निष्काशन बन्द गर्ने भएको हो।
कम्पनीले प्रति इकाइ १०० रुपैयाँका दरमा जारी पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गरेको हो। सर्वसाधारण समूहतर्फको शेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डका लागि बिक्री गरेर बाँकी रहेको १८ लाख ३० हजार कित्ता आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो।
सर्वसाधारण शेयरधनीले आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्छन्। कम्पनीले दुई वटा आयोजना निर्माण गरेको छ। मिष्ट्री खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत जम्मा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने तादी खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४९ लाख रुपैयाँ रहेको छ। कम्पनीले आगामी दुई आर्थिक वर्षपछि प्रतिशेयर आम्दानी ३६ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।
कम्पनीले निष्काशन गरेको यस प्राथमिक शेयरमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको थियो। प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। शेयर संरचना भने सर्वसाधारणतर्फ २० प्रतिशत र संस्थापक शेयरधनी समूहतर्फ ८० प्रतिशत कायम हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।