राजविराज– सार्वजनिक बिदा कटौती गर्ने सरकारी निर्णयको सप्तरीको मुस्लिम समुदायले विरोध गरेको छ।
आइतबार जमिअत उलमाए सप्तरीको अगुवाइमा मुस्लिम समुदायका व्यक्तिहरुले राजविराजमा विरोध–र्याली निकालेका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र पनि पठाएका छन्। ‘विगतमा राज्यले इद र बकर इदलाई राष्ट्रिय बिदाको रुपमा राखेकोमा वर्तमान सरकारले उक्त बिदालाई सामुदायिक बिदामा खुम्च्याएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ, ‘सरकारको यो निर्णयले हामी स्तब्ध भएका छौं।’
आफ्नो निर्णयमा पुनर्विचार गर्न र दुवै बिदालाई पुनः राष्ट्रिय बिदामा समावेश गर्न पत्रमा ध्यानाकर्षण गराइएको छ। निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने अध्यक्ष मौलाना मो. एैयूव मिफताहीले चेतावनी दिएका छन्।
सरकारको निर्णय विरुद्ध यसअघि नै आदिवासी, जनजाति सम्बद्ध २ दर्जन संघसंस्था आन्दोलनमा छन्। दस वर्षको युद्ध तथा विभिन्न समयका आन्दोलनबाट प्राप्त पहिचान र अधिकारलाई खोस्ने दुस्प्रयास भएको आरोपसहित विभिन्न ७ बुँदे माग राखेका संघ–संस्थाले चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशका ३५ प्रतिशत जनताले मनाउँदै आएका सांस्कृतिक पर्वहरु तमु, सोनाम र ग्याल्वो ल्होसार, उधौली तथा माघे संक्रान्ति जस्ता पर्वको सार्वजनिक बिदा खारेजी गर्ने सरकारको निर्णय तत्काल फिर्ता, प्रदेशको नामांकन गर्दा पहिचान र स्थानीय भाषालाई मान्यता, काठमाडौंका नेवार समुदायको आदिभूमिमा गैरन्यायिक रुपमा गरिएको सडक विस्तार बन्द गर्न ज्ञापनपत्रमा माग गरेका छन्।
संविधानले व्यवस्था गरेका राजनीतिक अधिकारसहित विशेष, संरक्षित र स्वायत्त क्षेत्र गठन गर्नुपर्ने तथा बहिष्कृत, सीमान्तकृत, उत्पीडित वर्गले उठाउँदै आएका सवालहरुलाई सम्बोधन हुने गरी अविलम्व संविधान संशोधन, पहिचानसँग सम्बन्धित अन्दोलनका राजबन्दीहरुलाई क्षतिपूर्तिसहित रिहाइ लगायतका माग पनि ज्ञापनपत्रमा उल्लेख छन्।
बैसाख १४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारले अगाडि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गरेर कार्यदिन बढाउने उद्देश्यले वर्षभरिमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो। यसअघि वर्षमा १०४ दिन बिदा हुँदै आएको थियो।
सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।