काठमाडौं–बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराइले दसैंअघिका तीन महिनामा ४ अर्ब ४६ करोड रुपैयाँको कोकाकोला बिक्री गरेका छन्। कोभिडका कारण गत वर्षको भन्दा बिक्री घटेको छ। बोटलर्स नेपाल बालाजुको कोकाकोला बिक्री १५.८५ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल तराइको १०.४६ प्रतिशतले घटेको हो।
बिक्रीमा गिरावट आए पनि बोटलर्स नेपाल बालाजुको नाफा ३.२४ प्रतिशतले बढेको छ। कम्पनीले ३५ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै बोटलर्स नेपाल तराइको भने ४.७५ प्रतिशतले नाफामा गिरावट आएको छ। कम्पनीले पहिलो तीन महिनामा २८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
दुवै कम्पनीले खर्च कटौती गरेर नाफा गर्न सफल भएका हुन्। बालाजुको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी भने ६६५ रुपैयाँ रहेको छ।
तराईको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ। साथै जगेडा कोषमा २ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी ९४५ रुपैयाँ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।