राजविराज– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ का बाढीपीडितले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। फर्जी नामावली तयार गरी बाढीपीडितको राहतमा अनियमितता गर्न खोजेको भन्दै पीडितहरुले आज कार्यालयमा ताला लगाएका हुन्।
स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा तयार गरिएको बाढीपीडितको सूची धाँधलीपूर्ण भएको भन्दै स्थानीयले त्यसलाई सच्याउन माग गरेका छन्।
'धाँधलीपूर्ण, राजनीतिक वैमनश्यताले अभिप्रेरित र स्थानीय तहका कर्मचारी एवं जनप्रतिनिधिका आसेपासेलाई फाइदा पुग्ने हिसाबले तयार गरिएको सूची सच्याएर मात्र राहत वितरण गर्नुपर्छ, बाढीपीडित संघर्ष समितिका संयोजक रञ्जीतकुमार खड्गाले भने, ‘हामीले वास्तविक बाढीपीडितको नाम नभएको सूची सच्याउन माग गर्दै आएका छौं। तर, वडा कार्यालयले गैह्रपीडितको नामावली बोकेर राहत बाँडन खोज्दैछ।’

राहतको दुरुपयोग हुन नदिन सूची उपर छानविन तथा दोषिमाथि कारबाही हुनपर्ने आफूहरुको माग रहेको खड्गाले बताए। छुटेका बाढीपीडितको नाम सूचीमा राख्ने र नक्कली बाढीपीडितको नाम हटाउने कार्य नगरे आन्दोलन निरन्तर चल्ने उनले बताए। माग सम्बोधन नभए अर्को चरणमा नगरपालिका कार्यालयमै तालाबन्दी गरिने पीडितहरुले चेतावनी दिएका छन्।
उनीहरुले सूचीमाथि छानबिनको माग गर्दै शुक्रबार वडा कार्यालयमा धर्ना दिएका थिए भने गत बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएका थिए। ‘बाढी लगत्तै स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले निर्वाचित प्रतिनिधिले पीडितको पीडा र समस्यालाई बुझ्दै राहत तथा क्षतिपूर्तिका लागि आवश्यक पहल गर्छन् भन्ने अपेक्षा थियो,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तर, पदभार ग्रहण गरेको ६ महिना बितिसक्दा पनि हाम्रो समस्या र पीडाबारे जनप्रतिनिधिले खासै चिन्ता र चासो देखाएका छैनन्। उल्टै स्थानीय सरकार र जिल्ला प्रशासनको रबैयाले हामीलाई आहत बनाएको छ।’

राहतमा अनियमितता गरेकै विषयमा गत चैत १५ मा राजविराज नगरपालिका–५ को कार्यालय र चैत १२ मा तिलाठी–कोइलाडी गाउँपालिका कार्यालयमा पनि तालाबन्दी गरिएको थियो। राजविराज–५ का बाढी पीडितको सूचीमा भारतीय नागरिकको समेत नाम समावेश भएको वडा अध्यक्ष समिर झाले नै पुष्टि गरिसकेका छन्।
तत्कालीन मन्त्रिपरिषदको निर्णयानुसार घर मर्मतका लागि प्रतिपरिवार १५ हजार र न्यानो कपडा वितरणका लागि १० हजार गरी २५ हजारका रुपैयाँका दरले सप्तरीमा कुल १२ करोड ८६ लाख २५ हजार रुपैयाँ रकम उपलब्ध गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।