काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्तावलाई असन्तुलित र दुराग्रहपूर्ण भनेका छन्।
'पार्टी एकतालाई बचाउने हो भने' भन्दै शनिबार साँझ उनले फेसबुकमा लेखेका छन्- प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनुभएको छ।
उनले 'प्रस्ताव' का रूपमा प्रस्तुत ती संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध भएको उल्लेख गरेका छन्।
'सहमतिका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरीत 'कि तँ छैनस् कि म छैन' भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती 'प्रस्तावहरू'! दुराग्रहका साथ प्रस्तुत ती 'प्रस्तावहरू' फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने?', उनको प्रश्न छ।
उनले प्रचण्ड कमरेडले मात्र होइन, नेकपाभित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।