काठमाडौं- तिहार लक्षित गरेर व्यवसयीले भाइ मसलामा प्रयोग गर्ने वस्तुको उच्च आयात गरेका छन्। तिहारको भाइ मसलाका रूपमा प्रयोग हुने खाद्य वस्तुको उच्च दरमा आयात भएको हो।
तिहारलाई लक्षित गर्दै व्यवसायीले कात्तिकमा मात्रै १२ लाख ६९ हजार किलोग्राम (केजी) नरिवल आयात गरेका छन्। कात्तिकमा ११ करोड ५९ लाख रूपैयाँको नरिवल आयात भएको भन्सार विभागले जनाएको छ।
कात्तिकमा २ लाख ४६ हजार किलोग्राम काजु आयात भएको छ। यसको मूल्य १९ करोड ३५ लाख रूपैयाँ पर्छ। यसैगरी कात्तिकमा मात्रै ९३ हजार १८१ किलोग्राम बदाम, ३ लाख ३९ हजार किलोग्राम ओखर र १३५ केजी पिस्ता आयात भएको छ। आयातित बदामको मूल्य ६ करोड २८ लाख, ओखरको मूल्य १० करोड ५७ लाख र पिस्ताको मूल्य १ लाख ५० हजार रूपैयाँ छ।
विभागका अनुसार कात्तिकमा खजुर छोकडा १ लाख ५३ हजार केजी आयात भएको छ। यसको मूल्य १ करोड २७ लाख रूपैयाँ छ। त्यस्तै १६ हजार १८९ केजी अंजिर आयात भएको छ। यसको मूल्य ७४ लाख ५१ हजार रूपैयाँ छ।
यो अवधिमा ३ करोड २६ लाख रूपैयाँ बराबरको १ लाख ४१ हजार केजी किसिमिस आयात भएको छ। त्यस्तै ६४ लाख १९ हजार रूपैयाँ बराबरको ४८ हजार केजी सुपारी आयात भएको भन्सार विभागको तथ्यांक छ।
यो अवधिमा बिजुलीको छत तथा भित्तामा बाल्ने बिजुली १ लाख ८ हजार थान आयात भएको छ। यसको मूल्य २ करोड ९७ लाख रूपैयाँ छ। क्रिसमस ट्रिमा बाल्ने बत्ती ६७ हजार थान आयात भएको छ। यसको मूल्य ६३ लाख ८३ हजार रूपैयाँ छ।
केही वस्तुको आयात घट्यो, केहीको बढ्यो
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा गत आर्थिक वर्षको यही अवधिमा केही वस्तुको आयात बढेको छ भने केहीको घटेको छ। यो अवधिमा नरिवलको आयात केही घटेको छ। गत वर्षको ३ महिनामा ३ लाख ६६ हजार केजी नरिवल आयात भएकोमा यो वर्ष २ लाख ५३ हजार केजीमात्रै आयात भएको छ।
काजुको आयात थोरै बढेको छ। गत वर्षको पहिलो ३ महिनामा ४ लाख १९ हजार केजी काजु आयात भएकोमा यो वर्ष ४ लाख २६ केजी काजु आयात भएको छ। यो वर्ष बदामको आयात उच्च दरमा बढेको छ। गत वर्ष २ लाख ५३ हजार केजी बदाम आयात भएकोमा यो वर्ष ३ लाख ७५ हजार केजी आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।