काठमाडौं- सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले तलब भत्ता तथा अन्य सुविधासहित एक करोड ४६ लाख १५ हजार रुपैयाँ बुझेका छन्। यसमा उनले प्राप्त गरेको बोनस रकम पनि जोडिएको छ। बोनस ऐन अनुसार उनले नाफाबाट बोनस पनि प्राप्त गर्छन्। यस बाहेक उनले कर्जा सापटको पनि सुविधा प्राप्त गर्न सक्छन्। दाहालले बुझेको उक्त रकम गत आर्थिक वर्ष २०७६/७७ को हो।
दाहाल बाहेक उच्च व्यवस्थापनमा रहेका अन्य ६ जनाले तीन करोड ८२ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा बुझेका हुन्। सञ्चालक समितिका सदश्यहरुले गत आर्थिक वर्षमा २६ लाख १८ हजार रुपैयाँ भत्ता प्राप्त गरेका छन्। सञ्चालक समितिका अध्यक्षले प्रतिबैठक भत्ता १३ हजार रुपैयाँ र अन्य सञ्चालकहरुले प्रति बैठक भत्ता १२ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ।

यस बाहेक सञ्चालकहरुले पत्र पत्रिका टेलिफोन इन्टरनेट आदिको सेवाका लागि मासिक १२ हजार रुपैयाँ प्राप्त गरेका छन्। बैंकका कर्मचारीले गत वर्षको नाफाबाट तलबका अतिरिक्त २८ करोड ४४ लाख रुपैयाँ बोनस रकम प्राप्त गरेका छन्।
बैंकले आज १६ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कोभिड महामारीकै अवधिमा पनि बैंकले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो। साधारणसुभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ। त्यस्तै कर प्रयोजन सहित ३.६० प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। सानिमा बैंकको कुल सम्पत्ती एक खर्ब २६ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।