काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई ध्यान दिँदै काठमाडौं महानगरपालिकाले सरसफाइ कार्य तीव्र पारेको छ।
महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार, अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धूलो सफा गर्ने काम भइरहेको छ। छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका लागि सडकदेखि पूर्वाधार टल्काउने ध्याउन्नमा महानगर लागेको छ।
'महानगरपालिकाले विभिन्न संस्थाले विज्ञापन गर्ने उद्देश्यले सडकपेटी र बिजुलीको पोलमा टाँसेका पोस्टर पम्प्लेट, व्यानर, भित्तेलेखनलाई पनि निकालेर शहरलाई सफा बनाउने छ' आचार्यले भने।
महानगरले शहरी सौन्दर्यमा असर पर्नेगरी विभिन्न प्रचार सामग्री टाँस्ने र भित्तेलेखन गरेको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने भएको छ। नगर प्रहरी परिचालन गरेर पोस्टर टाँस्नेलाई मात्र होइन पोस्टर टाँस्न लगाउने कम्पनीलाई पनि कारबाही गरिने महानगरले जनाएको छ।
यसैबीच, महानगरले प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन पनि गर्ने तयारी गरेको छ।
मोदी यही बैसाख २८ गते नेपाल भ्रमणमा आउँदै छन्। 'धार्मिक भ्रमण' को उद्देश्यले आउन लागेका मोदी बिहारको पटनाबाट सोझै जनकपुरधाम आउने कार्यक्रम छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।