काठमाडौं–हिमालयन डिस्ट्रिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९२.१७ प्रतिशतले नाफा सुधार गरेको छ। कम्पनीले तीन महिनामै १८ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा ९ करोड ७५ लाख रुपैयाँ थियो।
विभिन्न ब्राण्डका मदिराजन्य बस्तुहरु बिक्री गरेर कम्पनीले तीन महिनाकै अवधिमा ६२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ। कोभिड १९ कै अवधिमा पनि कम्पनीको उत्पादनहरु बिक्रीमार्फत् ५३ प्रतिशत आम्दानी बढेको छ। कम्पनीले गत वर्षको यही अवधिमा ४० करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको चुक्ता पुँजी ५७ करोड ८४ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ८६ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी १०१ रुपैयाँबाट १२९ रुपैयाँ पुगेको छ। कम्पनीले केही वर्षदेखि रणनीतिक रुपमा आफ्ना उत्पादन नेपाली बजारमा बिक्री गरिरहेको छ। यसले गर्दा नाफामा उल्लेख्य सुधार भएको हो।
कम्पनीको सबैभन्दा धेरै बिक्री हुने गोल्डेन ओकको लेवल तथा ब्राण्डिङ चोरी गरि अन्य कम्पनीले बिक्री गरेको कम्पनीले आरोप लगाएको छ। कोभिड १९ का कारण होटल रेष्टुरेन्ट राम्रोसँग सञ्चालन हुन सकिरहेको छैन। यसले गर्दा बिक्रीप्रभावित भइरहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।