काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो तीन महिनामा उत्साहजनक सुधार गरेको छ। कम्पनीले बिमा पोलिसी बिक्री गरेर तीन महिनामै ८ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा १४.१६ प्रतिशतले बढी हो।
तीन महिना अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १२.०२ प्रतिशतले बढी हो। कम्पनीले बिमितको पैसा विभिन्न क्षेत्रमा कर्जा लगानी गरेर एक अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै बिमा लेख धितोमा राखेर बिमितलाई प्रवाह गरिएको कर्जाबाट कम्पनीले ५२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ।
कम्पनीले तीन महिना अवधिसम्ममा १३ लाख १९ हजार वटा बिमा पोलिसी बिक्री गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले १२ लाख ३९ हजार वटा पोलिसी बिक्री गरेको थियो। अभिकर्ताले पोलिसी बिक्री गराएर पहिलो तीन महिनामा ९६ करोड ८६ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ प्रतिशतले बढेर तीन अर्ब ६६ करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी २ रुपैयाँले बढेर १६ रुपैयाँ पुगेको छ। नयाँ जीवन बिमा कम्पनी आउँदा पनि नेपाल लाइफले आफ्नो जीवन बिमा व्यवसाय थप विस्तार गर्न सफल भएको हो। कम्पनीले कर्जा लगानी गरेर उल्लेख्य मुनाफा आर्जन गर्नुका साथै पोलिसी बिक्री गरेर आफ्नो व्यवसाय पनि विस्तार गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।