काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंकको अन्य विविध आम्दानीमा गिरावट आउँदा समग्र नाफा नै २६.१ प्रतिशतले घटेको छ। नेपाल इन्भेष्टमेन्टको कर्जा लगानीबाहेक अन्य विविध सेवा प्रवाह गरेर पनि आम्दानी हुँदै आएकोमा यस वर्ष कोभिड १९ का कारण ती सेवा सञ्चालन हुन नसक्दा नाफामा असर गरेको हो।
बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिक अवधिमा ६२ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जबकि गत वर्षको यही अवधिमा ८४ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको थियो। खुद व्याज आम्दानी ७ प्रतिशतले सुधार भए पनि अन्य आम्दानीमा भने भारी गिरावट देखिन्छ। बैंकले यस्तो आम्दानी एक अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको निक्षेप संकलन ११.१ प्रतिशतले बढे पनि कर्जा विस्तार भने जम्मा २.६ प्रतिशतले मात्रै बढेको छ। बैंकले एक खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
वितरण योग्य मुनाफा भने जम्मा २० करोड ४० लाख रुपैयाँ मात्रै छ। कोभिडका कारण प्रोभिजनिङ गर्नु पर्दा नाफामा असर गरेको हो। यस वर्ष स्प्रेडदरमा भारी गिरावट हुँदा नाफामा थप असर गरेको हो। स्प्रेड दर ५.१७ प्रतिशतबाट ४.१४ प्रतिशतमा झारेको छ। नाफामा गिरावट आएसँगै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँले घटेर १७ रुपैयाँमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।