काठमाडौं- एक सातामा सेयर बजार ८२ अंकले सुधार भएको छ। यस साता पाँचै दिन सेयर बजार बढेको छ। प्राविधिक विश्लेषकले सोचेभन्दा धेरै माथि पुगेको यस साता कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको समाचारले बजार बढेको हो। कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको समाचारले विश्वमै सेयर बजार सुधार भइरहेको छ।
साताको अन्तिम कारोबार १०.८२ अंकले सुधार भएर बन्द भएको छ। नेप्से सूचक सुधार हुने क्रममा साढे तीन वर्षयताकै अधिकतम बिन्दु १७१८.४९ अंकमा पुगेर रोकिएको छ। नाफा बुक गर्ने लगानीकर्ताका कारण कारोबार सुरु भएको केही समय घटेको थियो। तर केही समयमै बाउन्स ब्याक भएर सुधार भएको हो।
सूचकमा सुधारसँगै कारोबार रकम ४ अर्ब २५ करोड रुपैयाँ नाघेको छ। बिहीबार वाणिज्य बैंकको सूचकले समग्र सेयर बजारलाई नै सुधार्न मद्दत गरेको छ।
गएका दिनमा बीमा, व्यापार, उत्पादन तथा प्रशोधन जस्ता सूचकमा सुधार देखिए पनि आज वाणिज्य बैंकको सूचक १० अंकले सुधार भएको छ। वाणिज्य बैंक, निर्जीवन बीमा कम्पनी, व्यापार, अन्य र म्युचुअल फण्डको सूचकमा सुधार देखिए पनि अन्य सूचकमा भने भारि गिरावट आएको छ। लगानीकर्ताले जलविद्युत, फाइनान्स, निर्जीवन बीमा कम्पनीहरु बेचेर बाणिज्य बैंकको सेयर खरिद गरेका छन्।
साल्ट ट्रेडिङ विशाल बजारको सेयर मूल्य अधिकतम बढ्ने क्रममा बिहीबार पनि सर्किट लागेको छ। सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। जम्मा १९८ वटा कम्पनीको सेयर कारोबार हुँदा ६३ वटा कम्पनीको मूल्यमात्रै बढेको छ। साथै ९३ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।