भक्तपुर- मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ।
गत बैसाख ८ गते निवासमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड गरिएको हो।
श्रेष्ठकै घरमा सहकारी सञ्चालन गर्दै आएका चन्द्रभक्त श्रेष्ठले घटनाबारे जानकारी दिँदै भने, 'सिसी क्यामराको दृश्य हेर्दा राति दुई जनाको समूहमा आएका व्यक्तिले घरको मूलढोका तोडफोड गरी माथिका दुई तलासम्मका ढोकाहरु तोडफोड गरेको देखिएको छ।'
अस्पतालमा उपचाररत प्रमुख श्रेष्ठले भने, 'घरमा तोडफोड भयो भन्ने सुनेँ, ममाथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राऊ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो। खै के कारबाही होला र!'
महानगरीय प्रहरी वृत्त, थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले मेयरमाथिको आक्रमणसँग तोडफोडको घटना जोडिएको नपाइएको बताए। तोडफोड गर्ने नियतभन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उनले घटनाबारे अनुसन्धान थालेको बताए।
यसैबीच, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी १ सय ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। मध्यपुरथिमिमा आज भएको स्थानीयको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दबाव दिन, मेयरको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका नवीनप्रकाश श्रेष्ठले जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।