काठमाडौं–नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधारका क्षेत्रमा लगानी गर्न नसक्दा भएको पुँजी पनि बैंकमा जम्मा गरेर बस्नु पर्ने अवस्था आएको छ। निर्माण हुन लामो समयसम्म लाग्ने ठूला परियोजनामा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको बैंकले आयोजना फेला नपार्दा लगानीयोग्य पुँजी नै अन्य बैंकहरुमा निक्षेपको रुपमा जम्मा गरेर व्याज खाइरहेको छ।
नेपाल सरकार तथा व्यवसायीहरुको संयुक्त लगानी रहेको बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ। बैंकले ८ अर्ब रुपैयाँ प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ। बैंकले सर्वसाधारणबाट निक्षेप संकलन गर्न र सर्वसाधारणलाई कर्जा लगानी गर्न पाउँदैन।
नयाँ पूर्वाधार तथा आयोजनाले कर्जाको माग नगर्दा बैंकले लगानी गर्न नसकेको हो। बैंकले असोज मसान्तसम्मा विभिन्न पूर्वाधारहरु सँग ८ अर्ब ३५ करोड रुपैयाँको कर्जा प्रवाह गर्ने सम्झौता गरिसकेको छ। तर उक्त पैसा आयोजना निर्माणका क्रममा विस्तारै लैजाने भएकाले नगएको जनाइएको छ।
तर गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको पहिलो त्रैमासमा बैंकको निक्षेप ७८ प्रतिशतले बढेको छ। बैंकले विभिन्न बैंकहरुमा १३ अर्ब २० करोड रुपैयाँ जम्मा गरेको छ। विभिन्न आयोजनामा कर्जा लगानी भने ७ प्रतिशतले बढेर ९ करोड ८ लाख रुपैयाँ मात्रै छ।
व्याज आम्दानीमा भर पर्नु पर्ने भएकाले पहिलो तीन महिनामा बैंकको नाफा १२ प्रतिशतले घटेको हो। बैंकहरुले निक्षेपको व्याजदर घटाउदा नाफा पनि घटेको हो। बैंकले १८ करोड एक लाख रुपैयाँ नाफा गरेको छ। खुद व्याज आम्दानी भने २८ करोड ३५ लाख रुपैयाँ छ। प्रतिशेयर आम्दानी ६ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।