काठमाडौं–ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासिक अवधिमै एक अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४०.५९ प्रतिशतले नाफा सुधार गरेको हो।
जनता बैंकलाई प्राप्ति गरेसँगै बैंकको नाफा बढेको हो। पुँजीका हिसाबले सबैभन्दा ठूलो ग्लोबल आइएमईले नाफामा पनि सुधार गर्दै गइरहेको छ। असोज मसान्तसम्ममा बैंकले दुई अर्ब ५९ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ५६ करोड रुपैयाँ थियो। मर्जरपछि बैंकको सञ्चालन खर्च ५७ प्रतिशतले बढेको छ। नाफा एक अर्ब नाघे पनि कोभिड १९ का कारण वितरणयोग्य मुनाफा भने जम्मा २२ करोड ६१ लाख रुपैयाँ मात्रै छ।
चालु आर्थिक वर्षको तीन महिनामा निक्षेप संकलन ५.६२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ३.३५ प्रतिशतले बढेको छ। बैंकले यसै अवधिमा दुई खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले अझै पनि कर्जा विस्तार गर्ने पर्याप्त स्पेस छ। बैंकको कर्जा निक्षेप अनुपात ७२.५२ प्रतिशत छ।
बैंकको खराब कर्जा भने ०.९८ प्रतिशतले बिन्दुले बढेको छ। यस्तो कर्जा १.८३ प्रतिशत पुगेको हो। आधार व्याजदर २.१९ प्रतिशतले घटाएर ७.२५ प्रतिशतमा झारेको छ। नाफामा सुधारसँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँले बढेर २२ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।