काठमाडौं–कोभिड महामारीकै अवधिमा प्रभु बैंकले उत्साहजनक सुधार गरेको छ। बैंकले खराब कर्जा सल्टाउनुका साथै नियमित व्यवसायमा बढाएर नाफा वृद्धि गरेको हो। जबकि यस अवधिमा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम स्प्रेडदर पनि घटाएको छ।
बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा ३५.२५ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामै ८५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
निक्षेप संकलन तथा कर्जा लगानीमा आक्रामक प्रभु बैंकले खुद व्याज आम्दानी २०.४१ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले तीन महिनामा एक अर्ब ६९ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ४० करोड रुपैयाँ थियो।
निक्षेप संकलनभन्दा कर्जा लगानीमा बैंक आक्रामक देखिएको हो। तीन महिना अवधिमा निक्षेप संकलन ३.५४ प्रतिशतले बढाउदा कर्जा लगानी भने १६.७५ प्रतिशतले सुधार गरेको छ। बैंकले पहिलो त्रैमासिक अवधिमा एक खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। जबकि असार मसान्तसम्ममा निक्षेप संकलन एक खर्ब २८ अर्ब रुपैयाँ थियो भने कर्जा लगानी ९९ अर्ब ४१ करोड रुपैयाँ थियो।
बैंकको पुँजी कोष अनुपात केही बढेर ११.६३ प्रतिशत छ। खराब कर्जा ०.६५ प्रतिशत विन्दुले घटाएर २.६७ प्रतिशतमा झारेको छ। यस अवधिमा बैंकले केही पुराना बिग्रिएका कर्जा उठाएको हो। निक्षेपको व्याजदर घट्दा कस्ट अफ फण्ड पनि १.२६ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैकले निर्देशन गरेभन्दा माथि स्प्रेडदर रहेको बैंकले यस वर्ष घटाएर ४.३७ प्रतिशतमा झारेको छ। नाफामा उल्लेख्य सुधार हुँदा प्रतिशेयर आम्दानी ८ रुपैयाँले बढेर ३२ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।