इटहरी- सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान-इटहरी सडकखण्डमा आज दिउँसो गुडिरहेको बसमा अपरिचित व्यक्तिले विस्फोटक वस्तु प्रहार गरिएको छ।
धरानबाट काँकडभिट्टतर्फ जाँदै गरेको मे१ख २७३४ नम्बरको सूर्योदय दिवा सेवाको बसलाई लक्षित गरी बाहिरबाट फालिएको वस्तु विस्फोट हुँदा सोही बसमा यात्रारत धरान–१६ का तीन वर्षीय हेलेन गौतमको टाउकोमा सामान्य चोट लागेको छ।
इटहरी चोकदेखि करिब ४ सय मिटर उत्तरतर्फको सडकमा गुडिरहेको यात्रुबसमा कसैले विस्फोट हुने वस्तु प्रहार गरेको र त्यो वस्तु बस बाहिर लागेर आवाजसहित विस्फोट भएको बसका चालक धनबहादुर श्रेष्ठले जानकारी दिए।
विस्फोटक वस्तु पड्किँदा बसमा सामान्य नोक्सानी भएको र त्यो कस्तो विस्फोटक वस्तु हो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए।
विस्फोट भएको क्षेत्रमा दुई जना युवाले केही वस्तु फालेको स्थानीय प्रत्यक्षदर्शीले बताए पनि उनीहरुको पहिचान खुल्न सकेको छैन।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता रिहाइका लागि सरकारलाई दबाव दिनका लागि आज बन्द आह्वान गरेकाले उक्त विस्फोट पनि सोही समूहले गरेको आशंका गरिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।